लुट्न सके लुट, नेपालमै हो छुट भन्दै नेविसंघ सडकमा उत्रिएपछि‘ [भिडियोसहित]

Posted on: 18 Feb, 2019

पर्वत । लोक तथा दोहोरी गायक पशुपति शर्माको लुट्न सके लुट, नेपालमै हो छुट भन्ने बोलको गीत यतिबेला सामाजिक संजालमा भाइरल भएको छ । पशुपतिले आफ्नो युटुवमार्फत बजारमा ल्याएका थिए तर उक्त गीतमा केहि विवादस्पद शब्दहरु रहेको भन्दै हटाउन बाध्य पारिएको थियो ।


पशुपति शर्माले पनि उक्त गीतमा केहि त्रुटिहरु रहेको भन्दै क्षमा याचना गरिसकेका छन् । उनले सामाजिक संजाल मार्फत आफूलाई कसैले धम्की नदिएको तर स्वइच्छाले हटाएको बताएका छन् । उनले केहि शब्दहरु सामाजिक सद्भाव विथोल्ने खालको भएको भन्दै परिमार्जन गरी पुन अपलोड गर्ने जनाएका छन् ।


यसै बीच पर्वत नेविसंघले आइतबार साँझ कुश्मा बजारमा सोही गीत बजाएर केपी ओली सरकारको विरोध गरेको छ । साहित्यकारले साहित्यमार्फत, हाँस्यकलाकारले व्यङ्गात्मक कलामार्फत र गीतकारहरुले गीत मार्फत देशमा भएका वेथितिको बारेमा बोल्न र भन्न नपाउने निरङ्कुशता देशमा लादिएको भन्दै नेविसंघ पर्वतले सो गीत सार्वजनिक स्थलमा बजाएर ओली सरकारको विरोध गरेको हो ।

पशुपति शर्माले देशमा भएको यर्थात कुरालाई गीत मार्फत बाहिर ल्याएको नेविसंघको ठहर छ ।


लोकतान्त्रिक चोकमा भएको उक्त कार्यक्रममा प्रहरीले ठाडो हस्तक्षेप गरेको छ । प्रहरीले गीत बजाउनको लागि निषेध गरेपछि केही बेर नेविसंघ र प्रहरीबीच भनाभन भएको थियो । लोकतन्त्रमा गीत बजाएर नाच्न गाउन नपाउने यो कस्तो निरङकुशता हो भन्दै नेविसंघ उर्लिएको थियो । प्रहरीले अवरोध गरेपछि कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशी त्यहाँ आइपुगेका थिए । जोशी आएपछि प्रहरीले गीत बजाउन छुट दिएको थियो । नेविसंघले पशुपतिको जयजयकार गर्दै ओली सरकारको विरुद्धमा नाराबाजी समेत गरेको थियो ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!