कुवेत जान खोज्दा जेल

Posted on: 01 Aug, 2019

साउन १६, बिर्तामोड | रुपा लिम्बु (नाम परिवर्तन) पुस अन्तिम साता कुवेत जान भनी निस्किइन् । काँकडभिट्टा पार गरेर जलपइगुडी रेल्वे स्टेसनबाट करिब २४ घन्टा रेल यात्रापछि दिल्ली पुगिन् । त्यहाँ पुगेर आफूलाई कुवेत पठाउने एजेन्टलाई फोन गरिन् । एजेन्टले एउटा भाडाको घरमा लगेर राखे । त्यहाँ अरु महिला पनि थिए । 

रुपा दिल्ली पुगेको एकसातापछि आइपुगिन्, रौतहटको गुजारा नगरपालिका–२ की सानीमाया घिसिङ (नाम परिवर्तन) । सानीमाया साउन १ गते सुनौली नाका पार गरेर दिल्ली पुगेकी थिइन् । रुपालाई झापाकै गोपाल बराइली नामका एजेन्टले दिल्ली पुर्याएका थिए । सानीमाया राज नामका एजेन्टको साथ लगेर दिल्ली पुगेकी थिइन् । 

दुवैले करिब डेढ महिना दिल्लीको जाडो भोगे । दलालले तीन–चार दिनपछि उडाउँछु भनेर आश्वासन दिएको थियो तर डेढ महिनासम्म नपठाएपछि रुपाले भनिन्, ‘मलाई विदेश जानु छैन, घर फर्काईदेऊ ।’

रुपाले यति भनेपछि दलाल कुवेत पठाउन सहमत भए । इन्दिरा गान्धी विमानस्थल पुर्याएर फर्कनु अघि ती दलालते हातमा टिकट र पासपोर्ट थमाउँदै भने, ‘दुबई पुगेर जहाज फेर्नुपर्छ है, ध्यान दिनुहोला’ रुपा र सानीमायालो नपत्याउने कुरै थिएन । ९ फागुनमा दिल्लीबाट उडेको करिब ३ घण्टापछि जहाज रोकियो ।

रुपा र सानीमायाले ठाने–दुबइ आइपुग्यो, अब कुवेतका लागि अर्को जहाज चढ्नुपर्छ । हत्तपत्त काउन्टरमा पुगेर पासपोर्ट देखाए । नबुझिने भाषामा विमानस्थल कर्मचारी काइँगुइँ गर्न थाले । केही समयपछि प्रहरीले आएर कागजात शंकास्पद रहेको भन्दै पक्रेर लग्यो । 

- यो समाचार कान्तिपुर दैनिकमा पर्वत पोर्तेलले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!