नेकपाभित्र वैचारिक नेतृत्व कसले लिने भन्नेमा विवाद झनै उग्र

Posted on: 22 Jul, 2019

साउन ६, काठमाडौँ | नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद झनै उग्र भएको छ । उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी पक्षका नारायणकाजी श्रेष्ठको दाबी परेकाले आन्तरिक टकराव तीव्र भएको हो । पोखरेल र श्रेष्ठ दुवै नेकपाको शीर्ष नेताहरू रहेको नौ सदस्यीय सचिवालयका नेता हुन् ।

यो विवाद टुंगोमा पुग्न नसक्दा आइतबार बसेको सचिवालय बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जहरूको मात्र नामावली सार्वजनिक गर्‍यो । विभागहरूबारे छलफल गर्न मंगलबार फेरि बैठक बोलाइएको छ ।

सचिवालयमा रहेका अध्यक्षद्वय र महासचिवबाहेकका नेताले पार्टी्भित्र महत्त्वपूर्ण मानिने विभागहरू लिने सैद्धान्तिक समझदारी छ । त्यसअनुसार वरिष्ठ नेताद्वय माधव नेपालले विदेश र झलनाथ खनालले नीति तथा अनुसन्धान विभाग लिने सहमति भएको छ । त्यस्तै वामदेव गौतमले संगठन विभाग सम्हाल्नेछन् । पोखरेलले संगठन र स्कुल विभागमध्ये आफूलाई एक दिए हुने बताएका थिए । गौतमलाई संगठन दिने समझदारी भएपछि स्कुल विभाग स्वतः आफूले पाउनुपर्ने उनको अडान छ ।

पूर्वमाओवादी पक्षले स्कुल विभाग आफ्नो भागमा राखेर त्यसको नेतृत्व श्रेष्ठलाई दिनुपर्ने दाबी गरिरहेको छ । आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको पूर्वमाओवादी पक्षधर नेताको बैठकमा नेताहरूले स्कुल विभागको दाबी छोड्न नहुने धारणाराखेका थिए । 

- यो समाचार आजको कान्तिपुर दैनिकमा  दुर्गा खनालले लेखेका छन् ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!