आज आइतबारको मौसममा केहि सुधार, यस्तो हुनेछ भोलिदेखि मौषम

Posted on: 17 Feb, 2019

फागुन ५, काठमाडौँ | भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने बताइएको छ । 

यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

सोमबारदेखि फेरि हल्का वर्षा हुने र उच्च भेगमा हिमपात दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

‘पश्चिमी वायुको नयाँ प्रभाव सोमबार विहानबाट भित्रिँदैछ, मध्यम र हल्का वर्षाको गतिविधि देशैभर दोहोरिँदैछ’–शनिवार साँझ उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो । सोमबार सुदुरपश्चिमी भेगमा मौसमको प्रत्यक्ष प्रभाव देखिने र क्रमशः अन्यत्र प्रभाव फैलिने अर्यालले बताउनुभयो ।

‘पश्चिमी वायुको नयाँ प्रभाव सोमबार बिहानबाट भित्रिँदैछ, मध्यम र हल्का वर्षाको गतिविधि देशैभर दोहोरिँदैछ’–मौसमविद् मीनकुमार अर्याल 

मेघ गर्जनसहितको मध्यम र हल्का वर्षा दोहोरिने बताउँदै महाशाखाले बुलेटिन जारी गरेको छ । 

गत मंगलबार भित्रिएको भू–मध्यसागरको वायुको प्रभावले शनिवार अबेरसम्म मौसम प्रत्यक्ष प्रभावित भयो । शनिवार अबेरसम्म देशभरि नै हिउँदे झरीको प्रभाव परेको महाशाखाले जनाएको छ ।

शनिबार साँझ सार्वजनिक मौसमी विवरणअनुसार पोखरामा १९, डडेलधुरामा १० दशमलव ९, ताप्लेजुङमा ७ दशमलव ४ र जुम्लामा ५ दशमलव ७ मिलिमिटर वर्षा भएको छ । यसै गरी काठमाडौं उपत्यकामा ४ दशमलव १ मिलिमिटर र अन्यत्र पनि मध्यम र हल्का वर्षा भएको महाशाखाले जनाएको छ । केही दिनअघि देशभर पानी पर्दा ठाउँ ठाउँमा हिमपात भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!