मन्थलीमा केब्स स्कूलले गर्‍यो बृहत् शैक्षिक प्रदर्शनी (तस्बिरसहित)

Posted on: 22 Feb, 2019

फागुन १०, रामेछाप । कर्कलादेवी इङ्लिस बाेर्डिङ स्कूल (केब्स) ले बृहत् शैक्षिक प्रदर्शनीको आयोजना गरेको छ ।  सदरमुकाम मन्थली आकासेमा रहेको केब्स स्कूलको स्थापनाको १५ वर्ष पूरा गरेकोअवसरमा शैक्षिक प्रदर्शनी आयोजना गरिएको हो ।

शैक्षिक प्रदर्शनीको उद्घाटन जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले गरेका थिए ।

दुई दिनसम्म चल्ने प्रदर्शनीको पहिलो दिन आज करिब ११०० जनाले अवलोकन गरेको केब्स स्कूलका प्रिन्सिपल केशव तिमल्सिनाले जानकारी दिए । उनकाअनुसार शैक्षिक प्रदर्शनी अवलोकनका लागि मन्थलीस्थित सबै स्कूलका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी रामेछाप जिल्लाका सरकारी तथा गैरसरकारी संस्था र पेशागत संगठन आवद्ध व्यक्तित्वहरू, राजनीतिक दल, पत्रकार, पेशा व्यवसायी का साथै केब्सका विद्यार्थीहरू र अभिभावहरूले प्रदर्शनी अवलोकन गरेका छन् ।


शैक्षिक प्रदर्शनी अवलोकनपश्चात प्रदेश सांसद शान्तिप्रसाद पौडेलले केब्सले शिक्षा क्षेत्रमा अनुकरणीय काम गरेको बताए । विभिन्न स्कूलका विद्यार्थीहरूले केब्सले उच्च स्तरीय शैक्षिक वातावरण बनाएको सुनेको भएपनि आज त्यो प्रत्यक्ष देख्न पाएको बताए । उनीहरुले केब्स स्कूलको शैक्षिक गुणस्तरबाट अत्यन्तै प्रभावित भएको प्रतिकृया दिए । अवलोकनकर्ताहरुले जिल्लामै पहिलो पटक उच्चस्तरीय शैक्षिक प्रदर्शनी देख्न पाएको बताए ।


प्रदर्शनीमा विद्यार्थीहरूले बनाएको जलविद्युत, वायुविद्युत, केबुलकार, फुटबल स्टेडियम, माछापालन, मूर्तिकला, नेपाली बाजा, मन्दिर, डोजर, मिनी पुस्तकालय र विभिन्न भवनहरू तथा प्राकृतिक प्रोटोटाइपहरू मूख्य आकर्षणको केन्द्र बनेका थिए । यसैगरी विभिन्न विषयहरूसँग सम्बन्धित आकर्षक र ज्ञानबर्धक प्रोजेक्ट, ग्यालरीका साथै हस्तकलाका विविध साधनहरू प्रदर्शनमा राखिएका छन् । प्रदर्शनी शनिबार बिहान ९ः३० देखि दिउँसो १ बजेसम्म चल्ने विद्यालयले जनाएको छ।



तस्बिर/ केशव तिमल्सिना


यस बिषयमा तपाइको प्रतिक्रिया...!