डाक्टर भट्टराईले लगाए जीवनमै पहिलोपटक दौरा-सुरुवाल !

Posted on: 21 Feb, 2019

फागुन ९, काठमाण्डौ | पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई पहिलोपटक नेपाली राष्ट्रिय पोशाक दौरा-सुरुवालमा देखिएका छन् । यतिबेला पार्टीले सञ्चालन गरेको ‘जनसंवाद यात्रा’का क्रममा राष्ट्रिय पोशाकमा सजिएर देश दौडाहामा निस्किएका छन् ।

डाक्टर भट्टराईले गाउँगाउँमा स्थानीयसँग भलाकुसारी गर्दै हिँडेको आज २४औँ दिन पुगेको छ । बुधबार पश्चिम रुकुमका विभिन्न ठाउँहरु घुमेर भट्टराई बिहीबार जाजरकोट जाँदै छन्। 

बिहीबार डाक्टर भट्टराईले रुकुमको चौरजहारीबाट जाजरकोट जाँदै गर्दाको तस्बिर फेसबुकमा राखेका । साथै उनले जीवनमा पहिलो पटक दौरा सुरुवाल लगाएको भन्दै फेसबुकमा पोस्ट गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरा(सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो ! ’

डाक्टर बाबुराम भट्टराईको दौरा सुरुवालसहितको फोटो फेसबुकमा राख्दै उहाँकी पत्नी तथा नयाँ शक्तिकी नेता हिसिला यमीले लेखेकी छिन्, ‘मेरा खस श्रीमान पहिलो पटक खस दौरा’ सुरुवाल लगाएर खस भूमिमा ।

दश वर्षसम्म सशस्त्र संघर्ष गरेका बाबुराम आबद्ध तत्कालीन माओवादीले राष्ट्रिय पोशाक दौरा–सुरुवाल बदल्नु पर्ने बहस गरेको थियो । बाबुराम प्रधानमन्त्री भएका बेला उनी सम्बद्ध पार्टीका सांसदहरुले दौरा–सुरुवाल बहिष्कारसम्म गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!