१३ स्थानमा खनिज उत्खनन तथा अन्वेषण गरिने

Posted on: 15 Apr, 2021

वैशाख २, काठमाडौँ | मुलुकका विभिन्न १३ स्थानमा खनीज उत्खनन तथा अन्वेषण गरिने भएको छ । खानी तथा भूगर्भ विभागले खनिज उद्योग प्रवद्र्धनका लागि पाँच वटा खनिजको १३ स्थानमा उत्खनन तथा अन्वेषणका लागि बोलपत्र आह्वान गरेको हो । विभागका महानिर्देशक रामप्रसाद घिमिरेलले चुनढुङ्गा, तामा, मार्बल, बालुवा र कावालीन उत्खनन तथा अन्वेषणणका लागि बोलपत्र आह्वान गरिएको जानकारी दिनुभयो । 

विभागले सल्यानको कपुरकोट, धादिङको बेनिघाट–रोराङ गाउँपालिकाको तान्द्राङगढी र जुरेथुममा चुनढुङ्गा, मकवानपुरको सुपिनमा मार्बल, गोरखाको गण्डकी गाउँपालिकाको घ्याल्चोकको पाँच स्थानमा बालुवा उत्खनन गर्न लागेको छ ।

धादिङको बेनीघाट–रोराङ गाउँपालिकास्थित धुसा, म्याग्दीको ओखरबोट र मकवानपुरको आग्राखोलामा तामा र मकवानपुरको दामनमा कावालीनको विस्तृत अन्वेषण गर्न लागेको छ । महानिर्देशक घिमिरेलले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका स्वदेशी तथा विदेशी कम्पनीलाई प्राविधिक र आर्थिक प्रस्ताव अध्ययन गरेर राम्रो कम्पनीलाई उत्खननका लागि अनुमति प्रदान गरिने बताउनुभयो । खानी तथा खनिज पदार्थ नियमावलीअनुसार प्राविधिक प्रस्तावमा ६० प्रतिशत र आर्थिक प्रस्तावलाई ४० प्रतिशत आधार मानेर मूल्याङ्कन गर्ने गरिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!