दोलखाको वैत्येश्वर गाउँपालिकालाई कफी पकेटक्षेत्र बनाइँदै

Posted on: 17 Jan, 2021

माघ ४, दोलखा । दोलखाको वैत्येश्वर गाउँपालिकाका तीन वडालाई कफी पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । वडा नं १, ७ र ८ लाई कफी पकेट क्षेत्रका रुपमा विकास गराउनका लागि दुई हजार रोपनी क्षेत्रफल विस्तार गरिँदै छ । गत वर्ष ४० हजार कफीका बिरुवा रोपिसकिएको र यस वर्ष थप दुई हजार रोपनीमा बिरुवा लगाइने योजना रहेको वडा नं ७ का वडाध्यक्ष रेशमराज रिमालले बताउनुभयो ।

यस वर्ष तीन नर्सरीमा उत्पादित गरिएका करीब दुई लाख बिरुवा रोपिने योजना रहेको उहाँले जानकारी दिनुभयो । वाग्मती प्रदेश सरकारको कफी विस्तार कार्यक्रम र दोलखा कफी उद्योगको लगानीमा कफीखेती विस्तार गर्न लागिएको हो । गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत प्रदेश सरकारले रु ११ लाख सहयोग गरेको र दोलखा कफी उद्योगले थप रु ११ लाख जम्मा गरी कफीखेती शुरु गरिएको अध्यक्ष रिमालले बताउनुभयो ।

यस वर्ष पनि कार्यक्रम विस्तारका लागि प्रदेश सरकारले रु २५ लाख र कफी उद्योगले रु २५ लाख रकम विनियोजन गरी काम अगाडि बढाइएको छ । वडा नं ७ ले पनि कफीखेती विस्तारका लागि भन्दै रु दुई लाख रकम विनियोजित गरेको छ । विनियोजित  सो रकम कफीखेतीका लागि जमीनको पहिचान गरी पूर्वाधार विकास तथा सिँचाइ योजनाका लागि खर्च गरिने छ । 

उक्त गाउँपालिका तीन वडामा कफी उत्पादनको राम्रो सम्भावना रहेका कारण गत वर्ष वडा नं ८ को बसेरी, ७ का बेतानी, रिमालगाउँ र मार्वुटार तथा वडा नं १ को गैरिमुदी क्षेत्रमा ४० हजार कफीका बिरुवा रोपिएका थिए । यस वर्ष थप विस्तार गर्नका लागि मार्वुटार नर्सरीमा एक लाख  कफीका बिरुवा उत्पादन भइरहेका छन् । बेतानीमा ४० हजार, बसेरीमा तीन रोपनी जमीनमा ४० हजार र वडा नं ६ मा २० हजार कफीका विरुवा उत्पादन गरिएको छ । 

गाउँपालिकाको कृषि प्राविधिकको प्रत्यक्ष निगरानी रहने गरी ८०० मिटर देखि एक हजार ६०० मिटरसम्मको उचाइमा कफीखेती विस्तार गरिएको छ । कफीको उत्पादनका हिसाबले राम्रो मानिएका ती क्षेत्रमा जैविक कफी उत्पादन गर्ने र पछि अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन तथा प्रशोधनका लागि उद्योग सञ्चालन गर्ने तयारी गाउँपालिकाले गरिरहेको वडाध्यक्ष रिमालले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!