जनरल इन्स्योरेन्सको आइपीओ आजदेखि, मेरो सेयर मार्फत भर्दा पिन नम्बर अनिवार्य

Posted on: 27 Sep, 2020

असोज ११, काठमाडौं ।  जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज ११ गते (आज) देखि आइपीओ निष्कासन गरेको छ। 

कम्पनीले प्रतिसेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो। जसमध्ये १ लाख २० हजार कित्ता सेयर कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषको लागी छुट्याइएको छ। बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन्। 

कम्पनीको आइपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। आइपिओमा लगानीकर्ताले छिटोमा असोज १४ गतेसम्म र सो अवधिसम्म पुरै आवेदन नपरेमा ढिलोमा असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन्। सेयर निष्कासनका लागि कम्पनीको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल छ। कम्पनीको अधिकृत पुँजी २ अर्ब र जारी पुँजी एक अर्ब छ।

कम्पनीले ७० प्रतिशत संस्थापकतर्फबाट सेयर कायम गरी चुक्ता पुँजी ७० करोड कायम गरेको छ। सर्वसाधारण, कर्मचारी र सामूहिक लगानी कोषलाई ३० प्रतिशत सेयर बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब पुग्नेछ। आवेदकहरुले आस्वा सुविधा लिएका बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन्।

कम्पनीको प्रतिसेयर नेटवर्थ आर्थिक वर्ष २०७६/७७ सम्म १०४.०२ रुपैयाँ छ। कम्पनीले आव २०७७/७८ सम्म प्रतिसेयर ११५.१९ रुपैयाँ पुर्‍याउने प्रक्षेपण गरेको छ। कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा २० करोड ९६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी ५ करोड ६ लाख खुद नाफा कमाएको थियो। उक्त अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ २३ पैसा छ। कम्पनीको जगेडा कोषमा ४ करोड ६६ लाख रुपैयाँ सञ्चित छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!