स्वास्थ्य चौकीलाई जग्गा दान

Posted on: 03 Mar, 2018

फागुन १९, इलाम (रासस) | रोङ गाउँपालिका–२ मा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर निर्माणका लागि स्थानीय समाजसेवीले करीव रु छ लाख मूल्य पर्ने तीन रोपनी जग्गा निःशुल्क दान दिएका छन् । 

स्थानीय डिकबहादुर राई, वीरबहादुर राई र रामप्रसाद राईले एक एक रोपनी जग्गा दान गरेको वडाध्यक्ष टेकबहादुर तामाङले बताउनुभयो । सो वडामा स्वास्थ्य चौकी बर्थिङ सेन्टर नहुँदा स्थानीयवासीलाई सेवा लिनका लागि घण्टौँ धाउनुपर्ने बाध्यता छ । उक्त जग्गामा बर्थिङ सेन्टरसहितको सुविधा सम्पन्न भवन बनाउने योजना तयार गरिएको छ । 

यसैबीच नेपाल ट्रेड युनियन काँग्रेससँग आबद्ध कृषि श्रमिक संघ इलामको प्रथम जिल्ला अधिवेशनले विष्णुप्रसाद दुलालका अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले उपाध्यक्षमा खेमराज भट्टराई, महिला उपाध्यक्षमा मीना चौहान, सचिवमा दीपेन्द्र दुलाल, कोषाध्यक्षमा हेममाया प्रधान र सहसचिवमा वीना भुजेल तथा सदस्यमा टेकबहादुर थापा, रामबहादुर अधिकारी, लक्ष्मी पौड्याल र नेत्र राई निर्वाचित गरेको छ । 

अधिवेशनले फागुन २४ मा हुने ट्रेड युनियन काँग्रेस अधिवेशन प्रतिनिधिमा गोपाल भट्टराई, राजेन्द्र शर्मा, प्रमिला आचार्य, विष्णुप्रसाद दुलाल, पवित्रा आचार्य, सूर्य प्रधान र मनोज तिम्सिना तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विष्णुप्रसाद दुलाल र दीपेन्द्र दुलाललाई चयन गरेको छ । 

ट्रेड युनियन काँग्रेसका अध्यक्ष हरि फुयाँलले इलाममा कृषि श्रमिक संघले स्थानीय तहमा आएका सेवा सुविधा र अधिकारबाट बञ्चित नहुनका लागि बहस तथा पैरवी गर्ने बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!